बिजय हितान

१३ फेब्रुअरी, युके। नेपालका प्रथम सहिद लखन थापा मगरको १३४औं स्मृति दिवस, १२ फेब्रुअरी २०११, सनिबारको दिन नर्थोल्ट पार्क सोसिअल क्लब, नर्थोल्ट, लन्डनमा दिनको १ बजे देखि ७ बजे भब्यताका साथ सम्पन्न भएको छ। पदम थापाले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा सहिद लखनको तस्बिरलाई बोकेर आमन्त्रित पाहुनाहरुको साथ नौमती बाजाले स्वागत गर्दै हलभित्र भित्र्याइएको थियो।
मूख्य अतिथि बेलायतका लागि नेपाली राजदुत डा सुरेश चन्द्र चालिसेले सहिद लखनको तस्बिरमा माल्यार्पण र पानसमा बत्ती बालेर उक्त स्मृति दिवसको शुभारम्भ गरेका थिए। बिभिन्न जातिय र साहित्यिक संगठनहरुबाट आएका प्रतिनिधिहरुको आसन ग्रहण पछि रमेश खपाङीले सहिद लखनको जिवनिमा एउटा खोजपुर्ण मन्तब्य राखेका थिए। देरादुनमा सहिद लखनको नातिनी भेटिएको र उहाँबाट लखनको बारेमा धेरै तथ्यकुराहरु थाहा पाएको खपाङीले बताए। अनि सहिद लखन एउटा जातको मात्रै नरही सम्पुर्ण नेपाल राष्ट्रको गौरब र गहना भएकोले सहिद लखन को स्मृति दिवस आउने दिनहरुमा नेपाली राजदुतावास, एन आर एन र जनजाति महासंघ जस्ता जिम्मेवार पच्छहरुले सङगठित रुपमा आयोजना गर्नुपर्ने दायित्व रहेको उनले औंल्याए।
खपाङीको यस खोजपुर्ण प्रबचनपछि कबिता, मुक्तक, गीतहरु सुनाएर र मन्तब्य भनेर कार्यक्रमलाई अगाडि बढाइएको थियो। कबिता बाचन गर्नेहरुमा प्रतिभा प्रतिस्ठान बेलायतका कबीहरु नरेश काम्बाङ, देबेन्द्र खेरेश, बिजय हितान, अन्तररास्ट्रिय नेपाली साहित्य समाजका कबीहरु डा रुपक श्रेस्ठ, गोपी कृष्ण प्रसाई, जयलक्ष्मी राई, लक्ष्मी राई, सशी सुब्बा, नेपालबाट भ्रमणमा आएका बिसिस्ट साहित्यकार बिस्वबिमोहन श्रेस्ठ; स्थानिय कवीहरु हेम सेठ, दुत पुन, युबहादुर गर्बुजा थिए।
बेलुका सात बजे स्मृति दिवसका सभापति मगर संघ बेलायतका अद्धछ्य मेजर कुलबहादुर थापाको समापन भाषण पछि उक्त दिनको औपचारिक कार्यक्रम अन्त्य गरिएको थियो। बेलुकाको नेपाली खाना खाएपछि लोक निर्त्य प्रस्तुत गरेर आमन्त्रित ब्यक्तिहरुलाई मनोरन्जन पनि प्रदान गरिएको थियो।
स्मरण रहोस् लखन थापा मगरलाई सन १९९९ मा नेपाल सरकारले प्रथम सहिद भनेर घोषणा गरेको थियो। उनलाई जहानिया राणा साशनको बिरुद्दमा आवाज उठाए बापत जङबहादुर राणाले सन १८७७ को २७ फेब्रुअरीमा आफ्नै गाउँ बुङ्कोट, गोर्खामा खरीको बोटमा झुन्डाएर मार्न लगाएका थिए।
सन १८३५ मा जन्मेका थापा मगर नेपाली सेनाको कप्तान पदको जागिर त्यागेर जन-सेना तयार बनाइ निरन्कुश साशनको बिरुद्द लडाईं सुरुआत गरेका थिए। उनैले देखाएको साहसबाट प्रभावित भएर धर्म भक्त, सुक्रराज, गँगालाल, र दसरथ चन्द जस्ता चार शहिदहरुको रगतले नेपालमा प्रजातन्त्र उदय हुन सकेको तथ्य उक्त दिवसमा सबैले महसुस गरेका थिए।


















