दिनेश गौतम, नेपालगन्ज, भदौ २५- बस व्यवसायीबीच प्रतिस्पर्धाको फाइदा यात्रुले पाएका छन्। सिन्डिकेट प्रणाली तोडिएपछि यात्रुलाई दिने सेवा र सुविधालाई लिएर व्यवसायीबीच होडबाजी बढेको छ।
नेपालगन्जबाट काठमाडौं र काठमाडौंबाट नेपालगन्ज चल्ने बसले यात्रुलाई दिने सुविधा बढाएका छन्। सार्वजनिक भेरी यातायात समितिले आरामदायी सिटका साथ खाना, पानीका साथै पत्रिका निःशुल्क दिने व्यवस्था गरेको छ।
सार्वजनिक भेरी यातायातले यो सुविधा दिन थालेको ६ महिनापछि नै वागेश्वरी र भेरी यातायात समितिले वातानुकुलित (एसी) बस सेवा सञ्चालन गरेका छन्। वागेश्वरीले दुई वटा र भेरीले एउटा वातानुकुलित बस सञ्चालन सुरु गरेका हुन्।
लामो समयसम्म भेरी अञ्चल यातायात व्यवसायी संघमा आवद्ध व्यवसायी 'फुट'को फाइदा यात्रुले पाएका छन्। 'बसमा खसी बोका सँगसँगै बसेर तिनको पिसाब र बर्कौंला सुंघ्दै यात्रा गर्नुपर्ने दिन गए,' वागेश्वरी यातायात समितिका अध्यक्ष जगतजंग बुढाथोकीले भने।
भेरी र वागेश्वरी यातायात मिलेर क्यापिटल एक्सप्रेस सुरु गरेका थिए। यात्रीले टिकट काटेपछि पानी र खाना निःशुल्क दिने योजना ल्याएपछि बढेको यात्रुको भीड बढेको छ। यी बसका यात्रुले नागरिक र रिपब्लिका दैनिक निःशुल्क पाउँछन्। अहिले यी दुई समितिले सुविधासम्पन्न ३५ वटा बस चलाइरहेका छन्।
सार्वजनिक भेरी यातायात समितिले ६ वटा नागरिक यातायातमार्फत यात्रीलाई सुविधा दिएको छ। गत माघको तेस्रो सातादेखि बस सेवा सुरु गर्दा वागेश्वरी र भेरी यातायातका व्यवसायीले अवरोधसमेत गरेका थिए। अहिले अवरोध छैन।
६ सय तिरे पनि कोचिएर यात्रा गर्ने यात्रीहरु यतिबेला १२ सय ५० रुपैयाँ भाडा तिरेर वातानुकुलित बसमा नेपालगन्ज काठमाडौं यात्रा गर्न पाएका छन्। गाडीहरु पनि पुरानाको सट्टा नयाँ छन्। बीचबाटोमा होटमा महँगो र गुणस्तरहीन खाना खानुपर्ने वाध्यता पनि हटेको छ। नागरिक यातायातले पत्रिका, पानी र खानासहित ९ सय ७५ रुपैयाँमा काठमाडौं पुर्याउँछ। सोही भाडादरमा क्यापिटलले पनि खाना र पानीको सुविधा दिएको छ।
एउटा बसका लागि व्यवसायीले करिब पचास लाख लगानी गरेको भेरी यातायात समितिका सदस्य भरत लम्सालले जानकारी दिए।
साभारः नागरिक

















