डीबी आङ्बुङ
काठमाडौं, भदौं २३, २०६७(२०१०)/ ऐतिहासिक पृष्ठभूमिको आधारमा खम्बुवान स्वायत्त राज्य प्राप्तिको महान् खम्बुवानी आन्दोलनलाई सशक्त र निर्णायक रुपमा अगाडि बढाउन खम्बुवानमा आन्दोलनरत् राजनीतिक सङ्गठनहरुलाई सङ्गठित गर्दै खम्बुवान राज्य प्राप्तिको लागि एकढिक्का हुने सहमति गर्दै दुई खम्बुवान सङ्गठनहरु खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच भाद्र २३ गते विधिवत एकीकरण भएको छ।
खम्बुवान राष्ट्रिय मोर्चाको तर्फबाट अध्यक्ष आर. के. खम्बू र खम्बुवान डेमोक्रेटिक फ्रन्टका तर्फबाट इन्द्रहाङ खम्बूद्वारा हस्ताक्षरित सहमति-पत्रमा खम्बुवान राज्य प्राप्ति र खम्बुवान मुक्ति आन्दोलनलाई एकतावद्ध रुपमा अगाडि बढाउन खम्बुवानमा आन्दोलनरत् सङ्गठनहरुको ऐतिहासिक जिम्मेवारी र आवश्यकतालाई आत्मसात् गर्दै ; खम्बुवान, लिम्बुवान, तामाङ्सालीङ, नेवाः, मगरात, तमुवान, थरुहट, मिथिला, खसान आदि आ-आफ्ना स्वायत्त राज्य प्राप्तिको लागि एकीकृत राष्ट्रिय मुक्ति आन्दोलन गर्न सहमत भएको जनाइएको छ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहजीकरण्मा मिति २०६७ साउन १५ र १६ गते मञ्चको संघीय कार्यालय अनामनगरमा बसेको प्रथम वार्ता मिति २०६७ साउन २५ गते धनकुटाको भेडेटारमा बसेको दोस्रो वार्ता र मिति २०६७ भदौ २२ र २३ गते मञ्चको संघीय कार्यालय अनामनगर काठमाडौंमा सम्पन्न तेस्रो वार्ताबाट खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच जम्मा दश बुँदाहरुलाई स्वीकार गरी सर्वसम्मत् खम्बुवानी एकता भएको निर्णय गरेका हुन्।
सो सहमतिका बुँदाहरु निम्नानुसार रहेका छन-
१. खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टलाई एकीकरण गरी खम्बुवान राष्ट्रिय मोर्चामा एकीकृत र सङ्गठित हुने र खम्बुवान राष्ट्रिय मोर्चालाई खम्बुवान स्वायत्त राज्य परिषदको रुपमा प्रक्रिया पुर्याई संस्थागत गर्ने सर्वसम्मत निर्णय गर्दछौं।
२. खम्बुवान सङ्गठनहरु एकता हुनुपूर्व दुबै पक्षका सङ्गठनका केन्द्रीय समिति जिल्ला समिति र नगर/गाउँ समितिका साथै जनवर्गीय सङ्गठनहरुलाई मिलाएर एकीकृत समिति बनाई अगाडि बढ्न सर्वसम्मत निर्णय गर्दछौं।
३. खम्बुवान एकीकरणपछिको खम्बुवान राष्ट्रिय मोर्चाका कार्यवाहक अध्यक्ष तथा खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्षको जिम्मेवारी इन्द्रहाङ खम्बूले गर्ने र बाँकी जिम्मेवारी केन्द्रीय समिति जिल्ला समिति र नगर/गाउँ समिति तथा जनवर्गीय सङ्गठनहरुको हकमा सहमतिका आधारमा मिलाएर लैजान सर्वसम्मत निर्णय गर्दछौं।
४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध स्वायत्त सङ्गठन रहने गरी खम्बुवान, लिम्बुवान, तामाङसालीङ, मिथिला, मगरात, तमुवान, खसान, नेवाः, थरुहट, आदि आन्दोलनलाई जोड्दै राष्ट्रिय मुक्ति आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई सशक्त र एकीकृत रुपमा अगाडि बढाउन सम्पूर्ण संघीयवादी आन्दोलनलाई संस्थागत गरी आन्दोलन र साङ्गठानिक एकरुपताका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संरचना वमोजिम खम्बुवान राष्ट्रिय मोर्चालाई खम्बुवान स्वायत्त राज्य परिषदको रुपमा प्रक्रिया पुर्याएर संस्थागत गर्ने सर्वसम्मत सहमति गर्दछौं।
५. खम्बुवान सङ्गठनहरुको एकीकरणपछि निर्माण हुने केन्द्रीय समितिलाई खम्बुवान एकताको महाधिवेशन मुल आयोजक समितिको जिम्मेवारीसहित कार्य सम्पादन गर्ने सर्वसम्मत् निर्णय गर्दछौं।
६. खम्बुवानको एकीकरणपछि बन्ने खम्बुवान राष्ट्रिय मोर्चाको नाम र झण्डाबाहेक सहमतिमा नपरेका नाम झण्डा र सङ्गठनलाई विधिवत रुपमा सार्वजनिक खारेजी र विघठन गर्ने सर्वसम्मत् निर्णय गर्दछौं।
७. खम्बुवानको एकतालाई राजनीतिक साङ्गठानिक र भावनात्मक रुपमा पनि एकीकरण भएको सन्देश र सहजीकरण गर्न नवनिर्मित सङ्गठनका सबै तह र तप्कामा लागू हुनेगरी आन्तरिक आचारसंहिता जारी गर्ने र खम्बुवान स्वायत्त राज्य परिषद्को रुपमा संस्थागत गर्न एक कार्यविधि जारी गर्ने सर्वसम्मत् निर्णय गर्दछौं।
८. खम्बुवान एकतापछिको खम्बुवान राष्ट्रिय मोर्चाले गर्ने राजनीतिक निर्णयहरु सहमतिका आधारमा गर्ने सर्वसम्मत् निर्णय गर्दछौं।
९. खम्बुवानको एकतालाई केन्द्रीय महाधिवेशन/सम्मेलन/भेलाले संस्थागत गर्ने समयसम्मका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहजीकरणको जिम्मेवारी दिन सर्वसम्मत निर्णय गर्दछौं। १०. एकीकरणपछिको खम्बुवान राष्ट्रिय मोर्चाको नवगठित केन्द्रीय समितिको नामावली र हस्ताक्षरसहित मिति २०६७ असोज ८ गते धरानमा विशेष भेला गरी खम्बुवान एकताको औपचारिक रुपमा सार्वजनिक गर्ने सहमति गर्दछौं।
साथै, एकीकरणसँगै दुबै सङ्गठनको सहमतिमा निम्नानुसारको आचारसंहितासमेत जारिगरिएको छ-
१. मिति २०६७।०५।२२ र २३ गते खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक प्रुन्टबीच भएको सहमतिका सम्पूर्ण बुँदाहरुलाई अक्षरसः पालना गर्ने।
२. बैठक भेटघाट सभा अन्तरक्रिया सम्मेलन अधिवेशन आन्दोलन आदि सबै निकायमा कार्य गर्दा वा कार्यान्वयन गर्दा सहमतिको आधारमा मात्र निर्णय र कार्यान्वयन गर्ने।
३. खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक प्रक्रियाबीच विगतका क्रियाकलाप वा विभिन्न कालमा भएका असहमतिका सवालहरुका आधारमा एकआपसमा गाली-गलौज वा आरोप-प्रत्यारोप आजकै मितिदेखि नगर्ने र प्रतिवद्धता व्यक्त गर्दछौं।
४. पत्र-पत्रिका टेलिभिजन एफ. एम्. लगायतका साचार माध्यमहरुमा समाचार सम्प्रेसण गर्दा वा प्रेस-विज्ञप्ति जारी गर्दा सामुहिक निर्णय र सहमतिको आधारमा मात्र गर्ने सहमत गर्दछौं।
५. खम्बुवान एकीकरणपछिको खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय समितिमा दुबै खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्ट खम्बुवानका अस्तित्वमा रहेका सबै तहका समिति तथा जनवर्गीय सङ्गठनहरुलाई एकीकृत र सङ्गठित गर्दा सामुहिक र सहमतिको आधारमा गर्न सहमत भएकाछौं।
६. खम्बुवान प्राप्तीका लागि मिति २०६७।०५।२२ र २३ गते भएको खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच भएको एकीकरणपछि जारी सहमतिको पूर्ण कार्यान्वयन नभएसम्मका लागि सहमतिका बुँदाहरुको मुल्य-मान्यता र मर्मविपरीत कुनै पनि खालको कार्य नगर्ने सहमत भएका छौं।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सहजीकरणमा मञ्चकै कार्यालय अनामनगर काठमाडौंमा सम्पन्न अन्तिम वार्तामा दुबै सङ्गठनका वार्ता टोलीका सदस्यहरु, नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको समेत सहभागिता रहेको थियो। वार्ताको सहजीकरणमा माचका अध्यक्ष कुमार लिङदेन 'मिराक' अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्फे, तामाङसालीङका अध्यक्ष डीके बुद्धिष्ट र उपाध्यक्ष सिङमान तामाङ मञ्चका महासचिव खगेन्द्र माखिम र सचिवालय सदस्य सूर्य माखिमलगायतको भूमिका रहेको थियो।


















