धरान। हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर भर्खरै धरान आएको बेला धरानबासीहरुले उनको भव्य स्वागत गरेका छन्। धरानबासीले उनको स्वागत तथा परिचयका लागि एक कार्यक्रमको आयोजना गरी धरानको खानेपानी समस्या समाधान गर्नका लागि हङकङमा बस्ने प्रवासी नेपालीहरुलाई धरानका विभिन्न सरोकारवालाहरुले आग्रह गरेका छन्।
हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरले धरानको विकासका लागि यस अघि पनि हङकङमा बस्ने धरानेहरुलो लाखौं रुपैया सहयोग गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। वातावरण तथा पर्यटन विकास केन्द्र तथा उद्योग वाणिज्य संघ सुनसरीले गरेको स्वागत तथा परिचय कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले भने हामीले विगतमा पनि धरानलाई बनाउन र चिनाउन सबै खाले सहयोग गर् यौं आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनेछौं। तर विगतमा आफुहरुले सहयोग गरेका योजनाहरु सही ढंगमा सदुपयोग र निर्माण नभएको भनी असन्तुष्टि प्रकट गरेका थिए। धरान हङकङ माचले निर्माण गरेको घण्टाघर भने जस्तो नबनेको र हाल धरान क्षेत्रीय रंगशालामा निर्माण भईरहेको मुख्य प्रवेशद्वार पनि चित्तबुभुदो नभएको बताए। आगामी दिनमा गरिने सहयोगलाई सदुपयोग गर्न पनि उनले आग्रह गरेका छन्।
उनले पर्यटकहरुलाई आकर्षण गर्न र आएका पर्यटकलाई राख्नका लागि धरानमा व्यावसायिक होटल नभएका कारण विगतमा आफुले ल्याएका विदेशी पर्यटकलाई बस्न समस्या भएको स्मरण गर्दै होटलहरुको व्यवस्थापन सुधार्न अनुरोध गरेका थिए।
स्वागत कार्यक्रममा भर्खरै धरान हङकङ माचको निम्ता मानेर आएका धरान नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पौडेलले धरानको खानेपानीको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए। धरानको खानेपानीको स्थायी समाधानका लागि कोशीबाट पानी ल्याउने एकमात्र विकल्प रहेको र त्यसका लागि ८० करोड रुपैया लाग्ने जानकारी गराए। उनले भने यो ज्यादै महंगो योजना भएकोले धरानबासीबाट मात्र यो सम्भव छैन। त्यसैले योजना पुरा गर्नका लागि तपाईहरुको सहयोग अपरिहार्य रहेको छ।

कार्यक्रममा वातावरण तथा पर्यटन विकास केन्द्रका सचिव तथा रंगकर्मी राजेन्द्र रिमालले आगामी वर्ष मुलुकले गर्न लागेको पर्यटन वर्षको लागि थापालाई सदभावना राजदुतको रुपमा घोषणा गर्न प्रस्ताव गरेका थिए। जसलाई उपस्थित सबैले उत्साहका साथ समर्थन गरेका थिए। उनको प्रस्तावलाई अत्यन्तै सकारात्मक र नयाँ कुरा भन्दै नगरपालिकाका पौडेलले यसका लागि केन्द्रसम्म पहल गर्नु पर्ने र आधिकारिक रुपमै घोषणा गर्न सकिने बताएका थिए। वास्तवमै यो गर्न सकिए धरानको लागि अत्यन्तै महत्वपूर्ण काम हुने बताएका थिए। कार्यक्रममा रिमालले हङकङ विश्व पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य भएको र त्यसलाई मात्र अनुसरण गर्न सक्दा मात्र पनि धेरै हुन सक्ने बताएका थिए। उनले नाटक तथा साँस्कृतिक कार्यक्रम गर्न हङकङ जाँदा हङकङबासीले देखाएको आत्मीयताको खुलेर प्रशंसा गरेका थिए।
त्यसैगरि होटल एशोसिएसनका महेन्द्र प्रधानले धरान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको शहर भएकोले पर्यटन क्षेत्रको विकासको लागि दातृ निकायहरुलाई सहयोग गर्न आग्रह गरेका थिए। उद्योग वाणिज्य संघ सुनसरीका निवर्तमान अध्यक्ष अशोक ताम्राकारले लामो समयदेखिको धरानको समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधानका लागि कोष स्थापना हुन लागेको ले सो कोषमा सबैको सहयोग भए तीब्र गतिमा काम अघि बढन सक्ने बताएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वातावरण तथा पर्यटन बिकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले धरानका बचाउन धरानको जलाधार क्षेत्रको संरक्षण गर्नु पर्ने कुरा उठाएका थिए। उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष मोहनकाजी शाक्यले धरानको समग्र विकासमा सहयोग जुटाउन आग्रह गरेका थिए।


















