२०१० सेप्टेम्बर ६, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल छैटौं पटक पनि प्रधान मन्त्रीमा पराजित भएका छन्। दाहालले जम्मा २ सय ४० मत ल्याए। उनको विपक्षमा १ सय १ मत परेको थियो भने ६३ मत तटस्थमा पर्यो। मतदान प्रक्रियामा सहभागीको सङ्ख्या भने ४ सय ५ थियो। यसैगरी कङ्ग्रेस नेतारामचन्द्र पौडेलको पक्षमा १ सय २२ मत परेको छ। उनको मतदानका बेला १ सय ७२ मत तटस्थ बसे।
यसैबीच आजको प्रधान मन्त्री चुनावमा मधेशी मोर्चा विभाजित भएको छ। जसअन्तर्गत उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम नेपालले 'नो भोट' मा जाने निर्णय गरेको छ। जसअनुसार उसले कसैलाई पनि भोट हालेन भने तटस्थ पनि बसेन। फोरमको यो निर्णयसँगै मधेशी मोर्चा विभाजित भएको स्पष्ट भएको छ। यो मोर्चामा मधेशका चार दल सम्मिलित थिए।एमाले, मालेलगायतका दल र मधेशी मोर्चाका अन्य तीन दल आजको चुनावमा पनि तटस्थ बसे। उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेकाले कोही पनि प्रधान मन्त्रीमा चुनिन नसकेका हुन।
प्रधानमन्त्री चयनका लागि सातौं चरणको निर्वाचन भदौ २२ गते मंगलबार हुने भएको छ। कार्यव्यवस्था परामर्स समितिको आइतबार बसेको बैठकले आगामी बैठक मंगलबार दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो। प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचनमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्याउन नसकेपछि निर्वाचनको नयाँ मिति तय भएको हो।
यसअघि भदौ ७ गते भएको पाँचौं पटकको मतदानमा माओवादी अध्यक्ष दाहालले २४६ पाएका थिए।सो मतदानमा कांग्रेसका पौडेलले १२४ पाएका थिए।गत असार १६ गते प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि प्रधानमन्त्रीका लागि गत साउन ५, ७ , १७ र २२, भदौ ७ र आज छैटौँ पटक निर्वाचन भएको हो।


















