२०१० सेप्टेम्बर २। उपराष्ट्रपति परमानन्द झाले दलहरुबीच २० गतेसम्म पनि सहमति नभए दलहरुले जनतालाई चित्तबुझ्दो जवाफ दिनु पर्ने बताएका छन्। पोखरा विमानस्थलमा संचारकर्मीसँग कुराकानी गदै उपराष्ट्रपति झाले सहमति हुनेमा नेपाली जनता आशावादी रहेको बताए। उनले दलहरुबीचको सहमतिले मुलुकलाई सही गति दिने विश्वास व्यक्त गरे। उनले राष्ट्रपति शासन लागु गर्ने र राजतन्त्र ब्युँतिन्छ भन्नु एउटै कुरा भएको बताए। 'राष्ट्रपति शासन लागु हुने र राजतन्त्र ब्युँतिन्छ भन्नु उस्तै हो,' उनले भने, 'यी दुवै कुरा असम्भव छ।' भारती हस्तक्षेप बढेको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उपराष्ट्रपति यादवले मुलक अहिले संक्रमणकालमा गुज्रिरहेकोले हरेक हस्तक्षेपलाई पचाएर सहमति कायम गर्नु नै अहिलेको आवश्यकता भएको बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पटक-पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेपछि पार्टीले केही फरक निर्णय गर्न लागेको बताएका छन्। त्यस्तो निर्णय के हुने बारे नखुलाएपनि उनले उम्मेदवारी फिर्ता लिन सक्ने तर्फ संकेत गरे। संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसंग बुधबार आफ्नै निवासमा भएको भेटमा उनले प्रधानमन्त्रीको चक्रव्युबाट निस्किन जारी केन्द्रीय समिति बैठकले केही निर्णय लिन सक्ने बताए। उनले २० गते हुने निर्वाचन अघि नै पार्टीले निर्णय लिने जानकारी दिए। उनले पटक पटक निर्वाचन दोहोरिएकाले आफूलाई निकै चिन्तित बनाएको बताए।


















