२०१० सेपटम्बर १, प्रहरी निरिक्षक बनाइदिन्छु भनि घुस लिएको आरोपमा पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्कीलाई विशेष अदालतले २० दिन थुनामा राख्न आदेश दिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालत पेश गरेको कार्कीलाई 'अनुसन्धानका लागि हिरासतमा राख्न' अदालतले आदेश दिएको हो।अख्तियारले ३० दिन थुनामा राख्न माग गरे पनि विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २० दिन हिरासतमा राख्न आदेश दिएको छ।
प्रहरी हिरासतबाटै अख्तियारको रोहबरमा स्पष्टीकरण दिन अदालत पुगेका कार्कीले सोधपुछका आफू संघियता र जातिय द्वन्दमा जानुहुँदैन भन्ने प्रष्ट बक्ता भएकोले राजनीतिक गुटबन्दीको शिकार भएको बताए। 'बामदेब निकट भएका कारण बिरोधीहरुले फसाए,' कार्कीले अदालतमा वयान दिँदै भने, ' यस्तो एक दुईलाख घुस खाने खालको मान्छे भएको भए मेरो भाउ पनि एकदुई करोडको भइसक्थ्यो।' महिनाकै पचास हजार तलब भएको बताउँदै यस्तो घुस खान नपर्ने तर कसैले आफूलाई षडयन्त्रपूर्वक फसाएको उनले बताए।


















