२०१० अगष्त ३१, चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हे योङ २१ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै भदौ अन्तिममा साताव्यापी भ्रमणमा आउँदैछन्। चिनियाँ प्रोर्टोकलमा उनको हैसियत उपप्रधानमन्त्री सरह हुन्छ। तीन वटै प्रमुख दलका नेताहरू विभिन्न समय चीन गएका बेला दिएको निम्तो मान्न उनी आउन लागेका हुन्। उनले भदौ २४ देखि ३१ सम्म नेपाल भ्रमण गर्नेछन्। हे चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति सचिवालय सदस्य समेत हुन्। भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने परराष्ट्रका एक अधिकारीले बताए। उनका अनुसार हे सरकारी नभई दलका नेताको निम्तोमा आउने भ्रमणको चाँजो भने परराष्ट्रले मिलाएको छैन।
उपप्रधानमन्त्री हैसियताका नेता आउने भएकाले हामीले सुरक्षा र प्रोटोकल व्यवस्थाका लागि पहल गरेका मात्र हौं' उनले भने, 'भ्रमणका अन्य एरेन्जमेन्ट सरकारको होइन।'माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका नेताहरूको चीन भ्रमणका क्रममा उनीहरूले चीनबाट पनि केन्द्रिय तहका नेताको भ्रमणका लागि निम्तो दिएको स्रोतले बतायो।
हे नेपाल-चीनका दलहरूबीच भ्रमण आदान-प्रदानका सिलसिलामा आउन लागेका हुन्' परराष्ट्रका अर्का एक अधिकारीले भने, 'अन्य एजेन्डा खासै छैनन्।ती अधिकारीले भने उच्च तहको चिनियाँ टोली आइसकेपछि बेइजिङको परम्परागत चासो भने राख्ने बताए। 'नेपाली भूमिमा तिब्बत विरोधी गतिविधि नहोस् भन्ने बेइजिङको परम्परागत चासो हो' उनले थपे, 'भेटवार्तामा यी विषय उठ्ने नै भए।' यसबाहेक समसामयिक राजनीतिकबारे पनि छलफल हुने उनले जानकारी दिए। हेको टोली काठमाडौमा राजनीतिक भेटघाटपछि स्वयम्भुनाथ, पोखरा र लुम्बिनी भ्रमणमा समेत जानेछ।यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला 'साङघाई एक्पो' मा भाग लिन बुधबार चीन जाँदैछिन्। एक्पोमा आगामी शुक्रबार नेपाल डे हुँदैछ, त्यही अवसरमा उनी जान लागेकी हुन्। उनीसँगै परराष्ट्रका चीन महाशाखा प्रमुख रुद्र नेपाल पनि जाँदैछन्।

















