२०१० अगष्त ३०, पाँच पटकसम्म भएको प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेको मधेसी मोर्चाको एक घटक मधेसी जनअधिकार फोरमले आगामी निर्वाचनमा भने मत लगाउने भएको छ। तर छैठौं चरणको निर्वाचनमा माओवादी या कांग्रेस मध्ये कुनचाँही उम्मेदवारलाई भोट दिनेबारे भने फोरमका अध्यक्ष उपेन्द्र यादवले खुलाएनन्। राष्ट्र संरक्षण साप्ताहिक पत्रिकाको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा यादवले मोर्चा अबको निर्वाचनमा तटस्थ नबस्ने खुलासा गरेका हुन्। मधेसवादी दलसलाई वेवास्ता गरिए मुलुकमा ठूलो अनिष्ट हुने भन्दै मधेसका मुद्दाहरुलाई सम्वोधन गर्न उनले तीन ठूला दललाई सुझाव दिए।
माओवादी र कांग्रेसले हलो अड्काएकाले समस्या थपिएको अध्यक्ष यादवको आरोप थियो। 'मधेशको मुद्दालाई कांग्रेसले स्विकार्नै नसक्ने, एमालले टेर्दै नटेर्ने र माओवादी गल्दै नगल्ने भएको कारण मुलुक अनिर्णयको बन्दी बनेको छ,' उनले भने। यादवले विगतमा कांग्रेसले एमालेलाई बोकेको भए पनि अहिले आएर एमालेले कांग्रेसलाई सहयोग गर्न नचाहेको भन्दै तटस्थ बसेर यसरी लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा. रामशरण महतले माधवकुमार नेपालको राजिनामापछि स्वभाविक रुपमा कांग्रेसको पालो आएको भन्दै आगामी २० गतेको निर्वाचनमा एमाले र मधेसवादी दलहरुले आफ्नो पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्नु पर्ने बताए। विना विभागीय मन्त्री लक्ष्मणलाल कर्णले ठूला राजनीतिक पार्टीका नेताहरुबीच कुर्सीको लडाईंले मुलुकले अहिलेको अप्ठ्यारो अवस्था सामना गर्नु परेको दावी गरे। एक मधेशको मागलाई पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले स्वीकारिसकेको अवस्थामा अहिले कांग्रेसलगायतका ठूला पार्टीले आनाकानी गर्न खोज्नु बेईमानी भएको उनको टिप्पणी थियो।


















