२०१० अगष्त २७, राष्ट्रपति डा. रामवरण यादवले चाँडै नयाँ सरकार बन्ने वातावरणका लागि पहल गर्न प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह गरेका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीसँगको एक घन्टा लामो भेटमा पाँचौं चरणसम्मको चुनावबाट समेत प्रधानमन्त्री चयन हुन नसकेकोमा चासो राखेका थिए। उनले सरकार निर्माणको विषयमा के भइरहेको र कहिलेसम्म निकास आउँछ भन्दै प्रधानमन्त्रीसँग जिज्ञासा राखेको थिए। प्रधानमन्त्री चयन नभएकाले अन्योल सिर्जना भयो भन्ने गुनासो आइरहेको उल्लेख गर्दै राष्ट्रपतिले गतिरोधको अन्त्य चाँडै गर्न दलहरू लाग्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री नेपालले सहमति बनेर मुलुकले निकास पाओस् भनेर आफूले राजीनामा दिएको उल्लेख गर्दै कहिले सरकार बन्छ भन्ने ठोकुवा गर्ने स्थिति नरहेको जवाफ दिएका थिए। माओवादीका कारण सहमति बन्न नसकिरहेको र अन्य दलले पनि अडान नछोडेको प्रधानमन्त्रीले बताएका थिए। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार प्रधानमन्त्री नेपालले कामचलाउ भएर काम गर्न आफूलाई अत्यन्तै अप्ठ्यारो परेको राष्ट्रपतिसँग गुनासो गरेका थिए। 'कामचलाउ प्रधानमन्त्री, केही गरौं अनेक अर्थ लगाउँछन्,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पन्तले भने, 'अत्यन्त पीडा भइसक्यो।'
राष्ट्रपतिले वाषिर्क बजेट नआउँदा आर्थिक अन्योल सिर्जना हुने स्थिति रहेकाले त्यसलाई कसरी निकास दिने भन्नेबारे प्रधानमन्त्रीलाई सोधेका थिए। प्रधानमन्त्री नेपालले नीति तथा कार्यक्रम कामचलाउ सरकारले ल्याउन नमिल्ने र पेस्की बजेट सकिएको अवस्थामा के गर्ने भन्नेबारे अन्य दलसँग छलफल गर्ने जानकारी गराए। राष्ट्रपतिले संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको समय सकिन लागेको विषयमा पनि जिज्ञासा राखेका थिए। प्रधानमन्त्रीले छलफल भइरहेको र अन्य दलसँगको समझदारीबाट निष्कर्षमा पुग्ने जानकारी गराए।


















