HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका लागि तीन उम्मेदवार

कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका लागि तीन उम्मेदवार

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० अगष्त २७, कांग्रेसमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका तीनै नेताले सम्पर्क कार्यालय खोली प्रचार-प्रसार अभियान थालेका छन्। कार्यबाहक सभापति सुशील कोइरालाको अधिकांश भेटघाट महाराजगन्जस्थित निवासमै हुने भए पनि गोप्य भेटघाटका लागि उनले महाराजगन्जस्थित खुमजुङ होटललाई अनौपचारिक सम्पर्क कार्यालय बनाएका छन्। त्यसका लागि पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव बालकृष्ण दाहालले उनलाई सघाइरहेका छन्।
 
सभापतिका प्रत्यासी पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ बानेश्वरमा ४ दिनअघि सम्पर्क कार्यालय खोलेका छन्। देउवा सम्पर्क कार्यालयमा बिहान ९ बजेदेखि १२ बजेसम्म बस्छन्। स्रोतअनुसार कोइराला र देउवाले कुनै पनि पक्षमा नलागेका र समावेशी कोटाबाट आएका मतदाताहरूसँग सम्पर्क बढाउन थालेका छन्।

सभापति कै अर्का उम्मेदवार भीमबहादुर तामाङले पनि बानेश्वरको शंखमूलमा बिहीबार सम्पर्क कार्यालय खोलेका छन्। उनले अब नियमित रूपमा सम्पर्क कार्यालयमा पार्टी कार्यकर्तासँग भेटघाट गर्ने बताए। सम्पर्क कार्यालयको औपचारिक शुभारम्भमै तामाङ र महामन्त्रीका उम्मेदवार नरहरि आचार्यले संयुक्त रूपमा १२ औं महाधिवेशनको संकल्प र प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन्। उनीहरूले अन्य उम्मेदवारीको प्यानल भने खडा नगर्ने जनाएका छन्।

केन्द्रीय सदस्यमा आकांक्षी युवाले चाहिं आफ्नो चुनावी प्रचारलाई संयुक्त रूपमा अघि बढाउन कमलादीमा कार्यालय खोलेका छन्। युवा कार्यालयमा पार्टी कार्यालय र शीर्ष नेताका सम्पर्क कार्यालयमा भन्दा बढी भीड देखिने गरेको छ। युवाहरू कार्यालयमा आउने मतदाताहरूसँग हात जोडेर मत माग्नसमेत थालेका छन्। महाधिवेशन प्रतिनिधिमा झन्डै चालीस प्रतिशत युवा चुनिएकाले सभापतिका प्रतिस्पर्धी कोइराला र देउवासमेत उनीहरूलाई आ-आफ्नो प्यानलमा राख्न तयार देखिएका छन्। तर धेरै आकांक्षी भएकाले नसकिरहेको एक युवा नेताले बताए।

महाधिवेशन सुरु हुन १९ दिन बाँकी छ। सभापतिका निम्ति तीन जनाले मात्रै उम्मेदवारी घोषणा गरेका छन्। सभापतिमा प्रमुख प्रतिस्पर्धी देखिएका कोइराला र देउवाले महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यमा प्यानल खडा गर्ने कसरतसमेत थालेका छन्।

महामन्त्रीका लागि उपसभापति प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, प्रवक्ता अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य रामशरण महत, खुमबहादुर खड्का र सुजाता कोइरालाले आकांक्षा देखाएका छन्। सुजाताले यसअघि नै महामन्त्रीमा उठ्ने घोषणा गरिसकेकी छन्। देउवाले निधिलाई महामन्त्रीमा उठाउने सोच बनाएका छन्। तर खड्काले आफू उम्मेदवार हुने इच्छा नत्यागेमा उनलाई आफ्नो पक्षमा राख्न निधिलाई केन्द्रीय सदस्यमा उठाएर अर्को महामन्त्रीमा मनोनीत गर्ने योजना बनाएका छन्।

महामन्त्रीका लागि सबैभन्दा अप्ठ्यारोमा कोइराला परेका छन्। सिंह, केसी र महतमध्ये कसलाई रोज्ने भन्नेमा उनलाई कठिनाइ परेको हो। उपसभापति सिंह सभापतिका लागि महामन्त्री 'दाहिने हात' हुनुपर्ने बताउँदै त्यसका लागि कोइरालाले चाँडै निर्णय लिनुपर्ने बताउँछन्। 'महामन्त्री सभापतिको दाहिने हात चाहिन्छ, कसलाई स्वीकार्ने हो त्यसको निर्णय भएमा त्यहीअनुसार अघि बढ्न सजिलो पर्छ,' उनले कान्तिपुरसँग भने, 'मैले त भेटेर म बाहेक अरू कुनै व्यक्ति सहज लाग्छ भने पनि गर्नुहोस् भनेको छु। महामन्त्री छान्ने अधिकार सभापतिको हो।

यता युवा प्रतिनिधित्व सुनिश्चत गर्न नेताहरू चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, दीपक गिरी, गगन थापा, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, शंकर भण्डारी, कुमार रेग्मीलगायत नेता लागिपरेका छन्। आफैं उम्मेदवार घोषणासमेत गरिसकेका उनीहरूमध्ये केहीले साझा युवा प्यानल खडा गर्ने तयारी समेत गरेका छन्। त्यसका लागि खुलाको २५ सिटमा १० मा सीमित राख्ने प्रयास गरेका छन्।

खुला, अञ्चल र समावेशी कोटाबाट समेत गरी ५० भन्दा बढी युवाले उम्मेदवारी घोषणा गरिसकेका छन्। कार्यालयमा उनीहरूले आफ्नो पक्षमा मत माग्नसमेत थालेका छन्। 'युवाहरू मात्रै होइन, पाका नेताहरू समेत टेलिफोनबाट म पनि उम्मेदवार हो, तपाईहरूको लिस्टमा राखेर सहयोग गर्नुहोला भन्दै फोन गर्छन्,' एक युवा नेताले भने। महाधिवेशनमा झन्डै ३२ सय प्रतिनिधिले मताधिकार प्रयोग गर्छन्। 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)