२०१० अगष्त २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले आफ्नो दलले गणतन्त्र स्वीकारेकाले संविधानसभाको निर्णय उल्टाउनुपर्ने पक्षमा आफू नरहेको बताएका छन्। भारतको राजधानी नयाँदिल्लीबाट बुधबार फर्केका राणाले भने, 'अहिले राजा र राजतन्त्रबारे छलफल गर्नुपर्ने परिस्थिति छैन।
संविधानसभाको पहिलो बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको र आफ्नो दलले पनि त्यसको पक्षमा मत दिएकाले राप्रपाको चौथो महाधिवेशनले सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले गर्ने निर्णयलाई स्वीकार्ने निणय गरेको प्रष्ट पार्दै राणाले भने, 'संविधानसभामा ९४ प्रतिशत सीट जित्ने दलले गणतन्त्रको पक्षमा भोट हाले, हामीले पनि जनतमलाई स्वीकार गर्यौं।
जनताले दुईतिहाइभन्दा बढी सीट दिएर एकीकृत माओवादी, कांग्रेस र एमालेलाई संविधानसभामा पठाए पनि उनीहरूको दलगत स्वार्थका कारण दुई महिनासम्म सरकार पनि गठन हुन नसकेको राणाले बताए। 'यो अलमतका लागि तीन ठूला दल जिम्मेवार छन्, उनीहरूमा राजनीतिक संस्कारको अभाव देखिएको छ', राणाले भने।
राप्रपाले गणतन्त्रका स्वीकारेकाले राजा र राजतन्त्र फर्काउने पक्षमा छलफल गर्नु आवश्यक नभएको उनले बताए। केही दिनअघि राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निवासमा आयोजित रात्रीभोजमा सहभागी राणालाई त्यहाँ भएको छलफलबारे राखेको जिज्ञासामा भने, 'त्यो रात्रीभोज मात्र थियो, राजा र राजतन्त्रबारे केही भएको थिएन।
लावतीको निवास, कुसुन्तीमा सोमबार भएको रात्रीभोजमा शाही सरकारका उपाध्यक्ष तुल्सी गिरी, राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै राणा पनि सहभागी थिए। उक्त रात्रीभोजलाई पूर्व 'राजावादी' हरू जमघटका रूपमा लिइएको छ।भोजमा सहभागी राणाले गणतन्त्र कार्यानवयन गर्दाको राजनीतिक परिस्थितिमा कुनै परिवर्तन नआएको पनि प्रष्ट पारे।


















