२०१० अगष्त २१, नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा जहाजको ‘ल्यान्डिङ गियर'मा गम्भीर समस्या आएर ‘ग्राउन्डेड' भएपछि ५० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती भएको छ। निगमको बोइङ ७५७ ९एन एसिबी जहाज ग्राउन्डेड लगत्तै दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा व्यस्त सेक्टर मानिने नयाँदिल्लीका आफ्ना सबै उडान उसले कटौती गरेको छ। ‘निगमको शाख एकपल्ट फेरि गुमेको छ भने सयौं यात्रु समस्यामा परेका छन्,' निगमका अधिकारीहरू नै भन्छन्।
एउटा जहाज ग्राउन्डेड भएपछि निगमको पाँच दशक लामो अन्तर्राष्ट्रिय ‘प्रतिष्ठा र विश्वसनियता' एक पटक फेरि गुमेको छ। पटक-पटक जहाज उडान ढिलो र उडिसकेको जहाज बीचैमा बिग्रिएर समस्या खेप्दै आएको निगममा अन्तर्राष्ट्रिय उडान गर्ने दुई जहाजमध्ये एउटा ग्राउन्डेड भएपछि उसको विश्वसनियता गुमेको हो।
निगमले सातामा २२ उडान गर्थ्यो। यो अब ११ मा झरेको छ,' निगमका कमर्सियल डाइरेक्टर सरोज कसजुले बिहीबार नागरिकसँग भने।उनका अनुसार दिल्लीको दैनिक एक उडान कटौती गरिएको छ। त्यसै गरी क्वालालम्पुर सातामा ६ बाट कटौती गरी ४, बैंकक ३ बाट २ र दुबई-दोहा ३ बाट २ मा झारिएको छ। हङकङ उडान यथावत् राखिएको छ। ‘यो सिजनमा बुकिङ पनि कम थियो,' उनले भने।
ल्यान्डिङ गियरमा समस्या आएका कारण एसिबी ग्राउन्डेड गरिएको निगमका नायबमहाप्रबन्धक राजुबहादुर केसीले बताए। ‘हाम्रो जहाजबाट यात्रा गर्न टिकट बुकिङ गरेका यात्रुलाई अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजमा पठाउने व्यवस्था मिलाएका छौं,' उनले भने, ‘ती यात्रुलाई इन्डियन एयरलाइन्स, जेट एयरवेज र थाइ एयरवेजमा पठाएका छौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड उक्त जहाजको ल्यान्डिङ गियर चर्केको छ। गत शनिबार दोहाबाट आएको जहाज अवतरणपछि निरीक्षण गर्ने क्रममा गियर चर्केको पत्ता लागेको इन्जिनियरिङ डाइरेक्टर बिएन झाले जानकारी दिए। ‘यो गम्भीर समस्या हो,' उनले भने, ‘गियर नै फेर्नुपर्छ।गियर फेर्न ३ लाख अमेरिकी डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको उनले बताए। गियरमा समस्या आएपछि निगमको जहाज मर्मतसम्भार गर्ने आधिकारिक कम्पनी इजरायलको एलाल एयरलाइन्सका चारजना प्राविधिक बोलाइएको थियो। तर, उनीहरूले पनि बनाउन नसकेर फिर्ता गएको झाले बताए।
उनका अनुसार निगमसँग जगेडा ल्यान्डिङ गियर नभएपछि क्यानडाका एआर क्यानडा र बिएफ गुडरिच लगायत पार्टपुर्जा निर्माता कम्पनीसँग खरिद गर्ने तयारी भएको छ। एआर क्यानडासँग निगमले वर्षौंदेखि पार्टपुर्जा खरिद गर्दै आएको छ। ल्यान्डिङ गियर प्रत्येक १० वर्षमा फेर्नुपर्छ। तर, अहिले बिग्रिंएको गियर दुई वर्षअघि मात्र फेरिएको झाले बताए।के कारण गियरमा समस्या आएको हो, हामी परीक्षण गर्दैछौं,' झाले भने, ‘गियर जडान गर्न दुई साताभन्दा बढी अवधि लाग्न सक्छ।' साना पुर्जा तुरुन्त पाउन सकिने तर, ठूलो भएकाले सहजै पाउन गाह्रो हुने उनले बताए। खर्च रकम र जडान अवधि बढ्न सक्ने उनले जानकारी दिए। यस्ता गियर निर्माता वा इन्जिन ओभरअल गर्ने कम्पनीसँग मात्र हुन्छ। सामान्यतया जहाज सञ्चालकसँग यस्ता गियर जगेडा हुँदैन।
जहाज ग्राउन्डेड भएपछि निगम व्यवस्थापनले दुई सातासम्म अर्को एउटा जहाजबाट मात्र अन्तर्राष्ट्रिय उडान गर्ने तालिका बनाएको छ। ‘दुई साता एउटामात्र जहाजबाट उडान गर्दा करिब ३ करोड रुपैयाँ घाटा हुन्छ,' निगमका फाइनान्स डाइरेक्टर माणिकमान वज्राचार्यले भने, ‘कम आम्दानी हुने सेक्टरमा उडान कटौती गरेकाले घाटा कम हुने अनुमान छ।उनका अनुसार प्रतिउडान करिब ९ हजार डलर खर्च लाग्छ। यहाँबाट दिल्ली जाँदा १ सय ९० सिटको जहाजमा १ सय ५० जनासम्म यात्रु हुने गरेका छन्। तर, उताबाट आउँदा ३० देखि ४० सिटमात्र भरिने गरेको छ। ‘दिल्ली घाटा भएकै सेक्टर हो,' उनले भने, ‘त्यही भएर दिल्लीकै सबै उडान कटौती गरेका हौं।' बैंकक सेक्टरमा पनि यात्रु कम रहेको उनले बताए।
अहिले ग्राउन्डेड भएको जहाज गत वर्ष वैशाखमा इन्जिनको उडान अवधि सकिएपछि ओभरअल गर्न १० दिनका लागि ग्राउन्डेड भएको थियो। दुईवटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमले त्यसबेला पनि आधा उडान कटौती गरेको थियो।
दुई दशक पुराना दुई जहाजबाट निगमले नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा र क्वालालम्पुर सेक्टरमा उडान गरिरहेको छ। दोहाका लागि भने दुबईबाट कनेक्टिङ उडान गरिरहेको हो। उसले दुवै जहाज सञ्चालन गर्दा प्रतिसाता ५ हजार ५ सय यात्रु बोक्ने गर्छ।अहिले थन्किएको जहाज गत वर्ष साउनमा पनि दुई सातासम्म पुनः ग्राउन्डेड भएको थियो। जहाज ग्राउन्डेड भएपछि त्यसमा यात्रा गर्ने तयारीमा रहेका करिब १ हजार ८ सय स्वदेशी तथा विदेशी यात्रु अन्य वायुसेवा कम्पनीका जहाजमा जान बाध्य भएका थिए। त्रिभुवन विमानस्थलबाट ४० यात्रु लिएर दिल्ली उडेको जहाजको बायाँ इन्जिनमा अचानक समस्या आएपछि करिब २० मिनेटमै फिर्ता भएको थियो। इन्जिनको तापक्रम चाहिनेभन्दा बढी भएपछि जहाज फिर्ता भएको थियो।

















