साउन ५। नेपालको संविधानसभामा आज भएको नयां प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल स्पष्ट बहुमत साथ प्रधानमन्त्री हुने निश्चित हुंदा हुंदै एमालेकै वरिष्ठ नेता भनिएका निवर्तमान प्रधानमन्त्री माधव कुमार नेपालका कारण झलनाथ खनालले प्रधानमन्त्री बन्ने अवसर गुमाएका छन्।
एकिकृत नेकपा माओवादीका उम्मेदवार अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल मध्ये कुनैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि सभामुख सुभास नेम्वांगले झलनाथ खनाललाई निर्वाचनमा जानको लागि समय दिंदै थिए। तर झलनाथ खनालका तर्फबाट प्रस्तावक बनेका निवर्तमान प्रधानमन्त्री माधव नेपालले झलनाथ खनालको प्रस्ताव फिर्ता लिइदिएपछि खनालले उक्त अवसर गुमाएका हुन्।
माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बीच भएको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन सकेन। माओवादी अध्यक्ष प्रचण्डले पक्षमा २४२ मत पाएका थिए भने उनको विपक्षमा ११४ मत परेको थियो। त्यसै गरी नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा १२४ मत परेको थियो भने विपक्षमा २३५ मत परेको थियो। दुवै उम्मेदवारको मतदानमा एमालेका सभासदहरू र मधेशी सभासदहरू तटस्थ बसेका थिए।
माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता पौडेल मध्ये कुनैले पनि प्रधानमन्त्री बन्नको लागि साधारण बहुमत ल्याउन नसकेपछि एमाले अध्यक्ष झलनाथ खनालको पालो थियो। उनलाई माओवादीले समर्थन गर्ने लिखित पत्र नै दिएको थियो। अर्थात माओवादी र एमाले मात्र गणना गर्दा पनि करीब ३४७ सभासदको स्पष्ट बहुमत प्राप्त गर्ने सुवर्ण अवसर हुंदा हुंदै एमालेकै बकम्फुसे नीतिका कारण उक्त अवसर गुम्न पुगेको छ। त्यस बाहेक अन्य केही साना दलहरूले पनि उनलाई समर्थन गर्ने बचन दिएका थिए।
नेपाली कांग्रेस र एकिकृत नेकपा माओवादी बीच दुश्मनीपूर्ण व्यवहार कायमै रहेको अवस्थामा अहिलेका उत्तम उम्मेदवार झलनाथ खनाल नै रहेका थिए।
खनाललाई प्रधानमन्त्री बन्नबाट रोक्न भारतीय चलखेल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई नेपालको प्रधानमन्त्री पदमा चुनिन नदिन भारतले ठूलो चलखेल गरेको अनुमान गरिएको छ। संविधानसभाको निर्वाचनपछि बनेको प्रचण्डको नेतृत्वको सरकारलाई गिराउनको लागि चीन भ्रमणमा रहेकै बखत भारतीय अधिकारीहरूले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर माओवादी अध्यक्ष प्रचण्डले स्वेच्छिक राजीनामा दिएपछि नेपाली कांग्रेसलाई प्रयोग गरेर एकाएक माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाइयो।
यसपटक पनि झलनाथ खनाललाई असफल बनाउने काममा भारतकै हात रहेको प्रशस्त अडकलबाजी गरिएका छन्। विशेषतः केही दिन अघिसम्म मात्र पनि प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसभित्र चर्को गुटबन्दी थियो। त्यसलाई मिलाएपछि भारतीय लबीका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने आसा गरेको थियो। एमालेबाट अध्यक्ष झलनाथ खनाल पनि प्रधानमन्त्रीको लागि उम्मेदवार बन्न कस्सिएपछि सबैभन्दा पहिले एमालेभित्रै उनका विरूद्दमा मोर्चाबन्दी गरायो। फलतः के.पी.ओली र माधव नेपालको नेतृत्वमा केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमत ल्याए मात्र झलनाथ खनाल प्रधानमन्त्री बन्ने काइते शर्त तेर्स्याइयो। राष्ट्रिय सहमतिका लागि माओवादीले झलनाथको नेतृत्व स्वीकार गर्ने बचन दिइसकेको थियो। तर समस्यालाई बल्झाउनकै लागि नेपाली कांग्रेसलाई कुनै पनि हालतमा सहमति नगर्न उक्साइयो। र त्यसपछि संविधानमै नभएको दुई तिहाइको शर्त तेर्स्याएर झलनाथलाई पाखा लगाउने खेल खेलियो। तैपनि माओवादी सहितका दलहरूले समर्थन गरेमा दुई तिहाइ पनि पुग्ने संकेत देखिंदैथियो। दुई वटा मधेशी पार्टीहरूले उनलाई बुधबार दिउंसो समर्थन पनि दिइसकेका थिए। तर एकाएक भारतकै धम्की र दबावका कारण मधेशी मोर्चाले निर्णय बदलेको बताइन्छ। फलस्वरूप अन्ततः झलनाथ खनाल स्पष्ट रूपमा प्रधानमन्त्री बन्ने निश्चित हुंदा हुंदै पनि पाखा लाग्न बाध्य पारिएका छन्। झलनाथ खनाललाई मतमा दुई तिहाइ नमिले पनि वास्तवमा अहिलेको अवस्थामा राष्ट्रिय सहमति कायम गर्न धेरै सजिलो थियो। एमालेले यस भन्दा अघि पनि नेपाली कांग्रेसलाई समेटेर अगाडि बढेको थियो भने माओवादीको पनि उनलाई समर्थन थियो।
अब के होला?
बुधबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत नल्याएपछि शुक्रबार पुनः मतदान हुनेछ। अब सबैको ध्यान नेकपा एमालेतर्फ नै केन्द्रित हुने छ। एमालेले शुक्रबारसम्म कुनै एउटा दललाई समर्थन गर्ने निर्णय गरेको अवस्थामा बाहेक नेपाली कांग्रेस र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको लागि बहुमत पुर्याउन सक्ने छैनन्। किनकि मधेशवादी दलहरू भारतको दबावका कारण माओवादी विरोधी मोर्चामा एकबद्द भैसकेका छन्। तर उनीहरूको मतले मात्र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न सक्ने छैनन्। एमालेभित्रका के.पी. र नेपाल गुटले नेपाली कांग्रेसलाई समर्थन गर्न दबाव दिन सक्नेछन्। तर पार्टी अध्यक्षलाई असफल बनाउने रणनीतिमा अप्रत्यक्ष भूमिका खेलेका नेपाल र ओली क्याम्पको कुरा त्यति सजिलै एमाले सभासदहरूले मानिहाल्लान् भन्ने अवस्था पनि छैन। तसर्थ अबको अवस्थामा सबैभन्दा बढी संकट एमालेमै देखिनेछ। कथंकदाचित भएभरका सभासदहरूलाई घुसपैठ गरेर रामचन्द्र पौडेल प्रधानमन्त्री नै बनिहाले भने देश युद्दको लागि तैयारीमा लाग्नेछ। किनकि रामचन्द्र मार्फत भारतले सबैभन्दा बढी दबाव माओवादीलाई कमजोर बनाउन र विशेषतः अध्यक्ष प्रचण्डलाई कमजोर बनाउन तर्फ लाग्नेछ। माओवादीले पनि एक हदसम्म सहेर बस्न सक्छ, तर अति नै भएपछि यसै पेलान उसै पेलान भनेर भिडन्तमै लाग्ने खतरा तडकारो देखिएको छ।

















