२०१० जुलाई १४। हिजो अफगानिस्तानको दक्षिण हेल्मण्ड नगरपालिका स्थित चेकपोष्टमा कार्यरत ब्रिटिश आर्मीको पहिलो बटालियन रोयल गोर्खा राइफल्सको कन्ट्रोल रुममा एक अफगानी सेनाले मेशीनगन र ग्रीनेड रकेट प्रहार गर्दै आक्रमण गर्दा टोली कमान्डर, एक अधिकृत र एक गोर्खा सेना गरी तीन जना ब्रिटिश सेनाहरु मरेका छन् भने अन्य चार पनि उक्त घटनामा घाइते भएका छन्।
आक्रमण गर्ने ती अफगानी सैनिकलाई तालिबानहरुले अफगानी राष्ट्रिय सेनामा घुसाएको हुनसक्ने शँका गरिएको छ। आक्रमण पछि भाग्न सफल त्यो सैनिकलाई तालीबान समुहले सुरक्षा दिएको बताइएको छ।
अफगानिस्तानको दक्षिण हेल्मण्ड नगरपालिका स्थित चेकपोष्टमा यो सहित दुई पटक ब्रिटिश सेनाका विरुद्ध आक्रमण भइसकेको छ। गत बर्ष २००९ नोभेम्बर महिनामा अफगान प्रहरीले उक्त चेक पोष्टमा आक्रमण गर्दा ५ जना ब्रिटिश सेना मरेका थिए।
घटनाको लागि अफगानी राष्ट्रपतिले बेलायती प्रधानमन्त्रीसँग माफी मागेका छन्।


















