HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार सर्वाधिक धनीहरूको सूचीमा शेष घले यो वर्ष पनि परे

सर्वाधिक धनीहरूको सूचीमा शेष घले यो वर्ष पनि परे

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० मे २८, गत वर्ष अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा परेका छन्। अष्ट्रेलियाको प्रतिष्ठित बीआरडब्ल्यू म्यागजिनले बिहीबार प्रकाशित गरेको सूचीमा घले १७६ औँ स्थानमा परेका हुन्। गत वर्ष १६४ औँ स्थानमा पर्न सफल घलेको उक्त सूचीमा स्थान खस्किए पनि कूल सम्पत्ति भने बढेको छ। म्यागजिनका अनुसार उनको कूल सम्पत्ति गत साल २०८ मिलियन अष्ट्रेलियन डलर ( करिब १३ अर्ब रुपैया) बाट बढेर यो साल २३७ मिलियन अष्ट्रेलियन डलर ( करिब १४ अर्ब ८० करोड रुपैया) पुगेको छ। अर्थात्, गएको साल घलेको सम्पत्ति दिनको करिब ४९ लाख रुपैयाको दरले बढेको थियो।
 
५२ वर्षीय घले आजभन्दा २० वर्ष अघि अष्ट्रेलिया आएका हुन्। लमजुङको दुर्गम नायुङ गाउँमा सामान्य किसान परिवारमा जन्मेका घलेले विद्यालय शिक्षा दुराडाँडामा अवस्थित सर्वोदय माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। झन्डै ३६ वर्ष अघि एसएलसी पास गरेका घले त्यो साल देशभरिबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने १६० जनामध्ये एक थिए। उनले थापाथली क्याम्पस र त्यसपछि छात्रवृत्तिमा तत्कालीन सोभियत संघबाट इन्जिनीयरिङ्ग अध्ययन पूरा गरेका थिए।

२०४७ सालमा एमबीए गर्न मेलबर्न आएका घलेले आएको ६ वर्षमै मेल्बर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरेका थिए। हाल मेलबर्न र सिड्नीमा क्याम्पस रहेको उक्त इन्स्टिच्यूट निकट भविष्यमै अरू सहरहरूमा पनि शाखा खोल्ने तयारीमा छ। इन्स्टिच्यूटमा हाल ३००० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने यो निकट भविष्यमै विश्वविद्यालयमा रूपान्तरण हुने प्रकृयामा छ। अष्ट्रेलियाली मिडिया उनलाई उच्च शिक्षामा लगानी गर्ने निजी लगानीकर्ताहरूमा अग्रणी मान्छन्।

कलेजको अतिरिक्त रियल स्टेटमा पनि घलेको उल्लेखनीय लगानी छ। यो साल उनले सन् १९२० मा बनेको पुरातात्त्विक महत्त्वको आर्गस बिल्डिङ खरीद गरेका छन्। त्यहाँ उनी झन्डै २००० विद्यार्थी पढाउन मिल्ने क्याम्पस भवन बनाउने सोचमा छन्। ऐतिहासिक भवनको संरचनामा धेरै परिवर्तन नगरिकनै भवनलाई कलेजमा रूपान्तरण गर्ने उनको योजनाको सबैतिरबाट प्रशंसा गरिएको छ।

यसको अतिरिक्त घलेले नेपालमा पनि लगानी सुरु गरेका छन्। उनको लगानीमा काठमाण्डौँमा सुविधासम्पन्न मल्टीप्लेक्स बन्ने तरखरमा छ।१९९७ देखि २००० सम्म नेपाली कन्सुलर जनरल रहेका घलेले उक्त अवधिमा नेपालको पर्यटन प्रवर्द्धनको निम्ति सक्रिय भूमिका खेलेका थिए।सम्पत्ति नाशवान हुन्छ',घले भन्छन् 'समाजको भलाइमा यसको सदुपयोग गर्नुपर्छ।' हिजोको शेष घले र आजको शेष घलेमा केही फरक नभएको उनी बताउँछन्।श्रीमती जमुना घले र छोराका साथ मेलबर्नमा बस्ने घलेका बाबुआमा अझै गाउँमै छन्। उनी भन्छन्, 'उहाँहरू गाउँ छाड्नै मान्नुहुन्न।' आफू यहाँसम्म आइपुग्नाको श्रेय उनी आफ्ना बाबुआमालाई दिन्छन्। उनी थप्छन्,'म जे छु, उहाँहरूको आशीर्वादले नै सम्भव भएको हो।'
 
Comments (1)
thanks gale dai
1 Friday, 07 October 2011 16:11
deepak maharjan
sampurna nepali ko sir garba garna sakne bhayo tapai ko mehenat ra safalta le garda .

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)