रुद्र श्रीस मगर, पोखरा
८ मार्च
कला साहित्य र संस्कृतिको संरक्षण गरौं अन्तर्राष्ट्रिय कलाकर्मीहरुसँग मित्रता बढाऔं भन्ने मूल नाराका साथ पाँचौ अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव २०६६ आज देखि पोखरामा सुरु भएको छ। पोखरा-९ नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको उक्त महोत्सवको आज एक कार्यक्रमकाबीच युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका डा. लक्ष्मणप्रसाद शर्माले उद्घाटन गर्नुभयो।
महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ता महोत्सवले अन्तर्राष्ट्रिय जगत्मा नेपाली मौलिक संस्कृतिहरुको प्रचार प्रसारमा टेवा पुर् याउने बताउनुभयो। नेपालमै अन्य देशका साँस्कृतिक प्रस्तुति हेर्न पाउनु खुसीको कुरा भएको भन्दै डा। शर्माले विभिन्न संस्कृतिको धनी नेपाल साँस्कृतिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो।
२९ गतेसम्म चल्ने उक्त महोत्सवमा विभिन्न १२ देशका ३ सय ६८ कलाकारहरुको सहभागिता रहने महोत्सवका संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो।
गुरु नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त अन्तर्राष्ट्रिय स्तरको महोत्सव यसअघि पनि दुईपटक पोखरामा सम्पन भैसकेका छन्। पोखरामा यो तेश्रो संस्करण भएको संयोजक पराजुलीले बताउनु भयो।
महोत्सवका मुख्य आकर्षणका रुपमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता रत्यौली गीत प्रतियोगिता भजन चुड्का प्रतियोगिता नौमती बाजा प्रतियोगिता लगायत रहेका छन्। महोत्सवको पहिलो दिन आजबाट नौमती बाजा प्रतियोगिता भजन चुड्का प्रतियोगिता र रत्यौली गीत प्रतियोगिता सुरु भएका छन्।
पहिलो दिन दर्शकहरुको कम सहभागिता रहेपनि दोश्रो दिनबाट दर्शकहरुको संख्यामा वृद्धि हुने आयोजकको दाबी छ। नौमती बाजाको प्रस्तुतिले महोत्सवको पहिलो दिन निकै रौनकतापूर्ण बनाएको थियो।
महोत्सवमा फ्रान्स, स्लोभानिया, लिथिनिया, स्पेन, बुल्गेरिया, नेदरल्याण्ड, पोल्याण्ड, भारत लगायतका विभिन्न देशका कलाकारहरुको उपस्थिति रहनेछ। करिब ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा कलाकारहरुको व्यवस्थापन गर्ने जिम्मा पश्चिमांचल होटल संघले लिएको छ।

















