७ मार्च २०१० नेकपा एमाले र नेपाली कांग्रेसले दुईवटा महत्वपूर्ण सरकारी निकायका प्रमुख पद आ-आफ्नो भागमा आउनुपर्ने दावी गरेपछि खाली रहेका संवैधानिक निकायहरुमा नियुक्ति गर्न नसकिएको एकजना एमाले नेताले बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल राष्ट्र बैंकका प्रमुख पदमा सत्ताधारी दुई दलहरुबीच भागबण्डा नमिल्दा अन्य निकायहरुको नियुक्ति समेत अन्योलमा परेको एमाले नेता भरतमोहन अधिकारीले उल्लेख गरेका छन्। सरकारी निकायहरुमा महत्वपूर्ण नियुक्ति गर्न चाहिने सहमति खोज्न भन्दै शनिबार बिहान दुई दलको बैठक बसेको थियो।`तर परिणाम केही निस्किएन।
उक्त बैठकमा भाग लिएका एकजना एमाले नेता भरतमोहन अधिकारीले दुई दलबीचको रस्साकस्सीले कुरा नमिलेको खुलाए।नेपाली कांग्रेसले आयोगको प्रमुख आयुक्त र राष्ट्र बैंकको गभर्नर आफुलाई चाहिन्छ भनेपछि कुरा मिलेन,” उनले बताए।अधिकारीले अख्तियार र राष्ट्र बैंकमा कुरा मिल्यो भने अन्य निकायमा सहजै भागबण्डा हुने बताए।सोही बैठकमा नेपाली कांग्रेसका तर्फबाट सहभागी डा रामशरण महत चाहिं अधिकारी जसरी खुलेनन्। तर उनले भागबण्डामा दुई दलको सहमति बन्न नसकेको स्वीकारे।
अख्तियारको प्रमुख आयुक्त पद खाली भएको करीब तीन वर्ष बितिसकेको छ। राष्ट्र बैंकको गभर्नर नियुक्ति नभएको चाहिं डेढ महिना भएको छ।अन्य संवैधानिक निकायहरुको हालत त झनै खराब छ। तीन वर्षदेखि महालेखा परीक्षकको पद खाली छ। लोकसेवा आयोग एक वर्षदेखि नेतृत्वविहिन छ भने निर्वाचन आयोगका प्रमुखको पदपनि झण्डै दश महिनादेखि रिक्त छ।लगभग सबै संवैधानिक निकाय खाली हुँदासमेत केही गर्न नसकेकोमा प्रधानमन्त्री माधवकुमार नेपालले दुई साता अगाडि संसदको राज्य व्यवस्था समितिमा आफ्नो निरिहता प्रकट गरेका थिए। उनले ती नियुक्ति गर्न अधिकारप्राप्त संवैधानिक परिषदको बैठकमा कहिल्यै सहमति जुट्न नसकेको भन्दै दुख व्यक्त गरेका थिए।लामो समयसम्म नियुक्ति हुन नसक्दा विभिन्न कामको निम्ति गठन गरिएका संवैधानिक अंगहरु पंगु हुन पुगेको विश्लेषकहरुको भनाइ छ।

















