रुद्र श्रीस मगर पोखरा
३ मार्च
बागलुङका होचा व्यक्ति खगेन्द्र थापामगरले विश्वकै होचा व्यक्तिका रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउने भएका छन्। सो कुराको जानकारी खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालले पोखरामा आज पत्रकारहरुसँगको भेटघाटमा गराएको थियो। इटलीको रेडियोकर्मीहरुको एक समूहको आव्हानमा गत फाल्गुण १० गते इटलीको रोमतर्फ प्रस्थान गरेका खगेन्द्र थापा मगरसहितको टोली स्वदेश फर्किसकेपछि पोखरामा आज पत्रकारसँग भेटघाट गरेको थियो।
पत्रकारहरुसँगको भेटघाटमा प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरले खगेन्द्रले २०६७ सालको असोज २८ गते विश्वकै होचो व्यक्तिका रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउने बताउनुभयो। असोज २८ गतेसम्म अहिलेका विश्वका होचा व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल चिनियाँ पिङपिङ यथावत रहने छन्।
पत्रकार भेटघाटमा चिनियाँ पिङपिङको उचाइ ३० इन्च रहेको र खगेन्द्रको उचाइ २४ इन्च मात्र रहेको जानकारी गराइयो। इटलीमा अवस्थित गिनिज बुक अफ वल्र्ड रेकर्डस्को कार्यालयका पदाधिकारीले खगेन्द्रले प्रदर्शन गरेको खाना खाने कला फुटबल र कराँते खेलको कला साथै उनको भित्री प्रतिभाहरुको मूल्यांकन र निरीक्षण गरेको थियो।



















