HongKongNepali.com, The Next Media

Monday
Dec 18th
Home नेपाल तथा विश्व समाचार कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया

कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया

E-mail Print PDF
AddThis Social Bookmark Button

रुद्र श्रीसमगर

पोखरा, १४ मंसिर

लाफा इन्भेष्टमेण्ट लिमिटेडले नेपाल बाहिर पहिलोपटक कतारमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । “एकता नै बल हो, इमान्दारिता नै धर्म हो” भन्ने मूल आदर्शलाई आत्मसात गर्दै आर्थिक समृद्धिका लागि लाफा इन्भेष्टमेण्ट लिमिटेड २०७३ कात्तिक १० गते विधिवत रुपमा नेपाल सरकारमा दर्ता भएको पब्लिक कम्पनी हो ।

कम्पनी नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत तथा युएईलगायतका देशमा क्रियाशील मगरहरूले स्थापना गरेका हुन् । सामूहिक लगानीबाट सुरु भएको लाफा इन्भेष्टमेण्ट लिमिटेडले नेपालका विभिन्न क्षेत्रमा लगानी सम्भाव्यता अध्ययन गरिरहेको छ ।

कतारको राजधानी दोहाको नज्मास्थित गोर्खा रेष्टुरेण्टको सभाहलमा भएको कार्यक्रम लाफा इन्भेष्टमेण्ट लिमिटेड कतार शाखाका संयोजक महेन्द्र थापामगरकोे अध्यक्षता तथा लाफा कम्पनीका अध्यक्ष चन्द्रज्योति आलेमगरको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अवसरमा कम्पनीका सञ्चालक समिति सदस्य तथा कानुनी मामिला प्रमुख अधिवक्ता रक्षाबहादुर रैकामगर र नेपाल मगर संघ, कतार शाखाका अध्यक्ष शेरबहादुर रोकामगर,  तनहुँ सेवा समाजका अध्यक्ष केश गुर्मछानेमगर, कास्की आदर्श सेवा समाज, कतारका अध्यक्ष मनप्रसाद रानामगर र सद्भाव युवा समाज, कतारमा महासचिव नरजन रानामगरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कतारका व्यापारी, व्यवसायी, सामाजिक अभियन्तालगायत कतारबासी मगर तथा गैर मगरहरूको उल्लेख्य उपस्थिति थियो । लाफा कम्पनीका संस्थापक सदस्य मनकुमार रोकिममगरले आगन्तुक पाहुनाहरूलाई कार्यक्रमको बारेमा प्रष्ट्याउँदै स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

कम्पनीका सञ्चालक समिति सदस्य एवं कानुनी मामिला प्रमुख अधिवक्ता रक्षाबहादुर रैका मगरले लाफा कम्पनी के हो ? किन स्थापना भयो ? यो कसरी चलेको छ ? र, लाफा खोल्नुको महत्वका बारेमा प्रष्ट पार्नुभएको थियो । सो अवसरमा कम्पनीका अध्यक्ष आलेमगरले विदेशमा रहेका नेपालीले कम्पनीमा लगानी गर्नुपर्ने आधारबारे बोल्नुभएको थियो ।

लाफा इन्भेष्टमेण्टले विभिन्न देशमा रहेका मगर समुदायलाई लक्षित गर्दै समग्रमा मगर जातिलाई व्यवसायी र उद्यमी बनाउनका लागि भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई अघि बढाइएको अध्यक्ष आलेमगरले जानकारी दिनुभयो । कम्पनीको अवधारणा मन पराएर सो अवसरमा १ सय जनाले शेयर सदस्यता लिने प्रतिबद्धता जनाएका छन् । शेयर सदस्यता लिएका नयाँ शेयर सदस्यहरूलाई कम्पनीका अध्यक्षबाट धन्यवादसहित खादा ओढाएर स्वागत गरिएको थियो ।

लाफा भिलेज निर्माण गर्ने, एक घर एक लगानी, प्रत्येक एक घरको लगानी उद्यमशील बन्ने अभियानमा हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भइसकेको अध्यक्ष आलेले बताउनुभयो । तत्काल बहुआय तथा विभिन्न क्षेत्रमा लगानी गर्ने, वित्तीय संस्था सञ्चालन गर्ने, व्यापार, व्यवसाय गर्न उत्साहित व्यक्तिहरूलाई संयुक्त लगानी गर्नमा अभिप्रेरित गर्ने, समृद्ध जीवन यापन गर्न संरचना राम्रो कम आय भएका साना व्यवसायी, विपन्न तथा मध्यम वर्ग र सम्पन्न वर्गलाई लक्षित गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गरिने उहाँले बताउनुभयो ।

लगानीका सन्दर्भमा विज्ञको परामर्श लिएर अघि बढेको जनाउँदै अध्यक्ष आलेले  इमान्दारिता नै विश्वासको मूल आधार भएको बताउनुभयो । कम्पनीले तत्कालीन दुईवटा योजना अघि सारेको उल्लेख गर्दै शहरको भीडभाडदेखि टाढा सुविधा सम्पन्न हरियाली र स्वस्थ वातावरणमा बस्न रुचाउनेहरूका लागि संयुक्त आवास निर्माण गर्ने अवधारणा अघि सारेको आलेले जानकारी दिनुभयो । विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमै लगाउने कम्पनीको मूल ध्येय रहेको उहाँको भनाइ छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News