हरि बहादुर सारुमगर
पाल्पा जेष्ठ ६ गते
पाल्पाली आदिवासी जनजातिहरुले जातिय पहिचान सहितको मगरात राज्य र यसको राजधानी पाल्पा हुनु पर्ने माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ पाल्पाको समन्वय र मगरात संघर्ष समिति पाल्पाको आयोजनामा भएको जनसभामा यो माग गरेका हुन् । पाल्पाको गाउँ गाउँबाट मगर लगायत विभिन्न आदिवासी जनजातिहरु सहभागी सभामा बोल्ने बक्ताहरुले जातीय पहिचान र नाम विनाको वेवारिसे राज्य आफुहरुलाई मान्य नभएको बताउदै १४ राज्यको माग गरेका थिए । सभाका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले सदियौं देखि मगर लगायत आदिवासी जनजातिहरको हकअधिकार कुष्ठित पार्दै आएका शासक वर्गहरुले नै आदिवासीको माग गर्नु लाजमर्दो भएको उल्लेख गर्नु भयो । हिजो मगर लगायतका ५९ वटा समुदायलाई तिमिहरु आदिवासी जनजातिहरु हौ भनेर सुचिकृत गराउनेहरु आज उनीहरुलाई अधिकार दिनु पर्ने भो भनेर आफुहरुलाई नै आदिवासी घोषणा गरेर ऐतिहासिक दस्तावेजको खिल्लि उडाएको बताउनु भयो । प्रमुख अतिथि घर्ती मगरले आदिवासी जनजातिहरु आफनो हकअधिकारप्रति सचेत भईसकेकाले आवश्यक परे ज्यान दिन पछि नहट्ने चुनौती समेत दिनु भयो । यस्तै नेफिन पाल्पाका प्रमुख सल्लाहकार अशोक शाहीले ३ ठूला राजनीतिक दलहरुले विदेशी ईसारामा आदिवासी जनजातिहरुको हकअधिकारलाई कुष्ठित बनाएको बताउनु भयो । हिजो १२ वर्ष सम्म आदिवासी जनजातिहरुलाई जंगलमा लडाएर सत्तामा पुगेका प्रचण्डले आफुहरुको मागलाई कुल्चने दुश्प्रयास गरेका त्यसको परिणाम राम्रो नहुने बताउनु भयो । उहाँले आदिवासी जनजातिहरु खाली भोट बैंकको रुपमा मात्र प्रयोग हुदै आएको बताउदै भावी दिनमा सचेत रहन आग्रह गर्नु भयो ।
जनआन्दोलन पछि पाल्पाको तानसेनमा यसरी जनमानस ओर्लियो यो पहिलो पटक हो । जनप्रदर्शनमा तीन हजार भन्दा बढी आदिवासी जनजातिहरु आ आफना पहिचानको व्यानरमा आफनै भेषभुषामा सजिएर आएका थिए । सभा हुनु अगाडि जनमानसले पहिचान विनाको संघिय राज्य चाहिदैन मगरात स्वायत्त प्रदेश घोषणा गर पाल्पालाई राजधानी कायम गर लगायता नारा सहित तानसेन बजार परिक्रमा गरेको थियो । तानसेनको प्रथम शहिद लखन थापामगर पार्क अगाडि सम्पन्न सभामा बोल्ने नेफिन सल्लाहकारहरु गिर बहादुर थापा ओम बहादुर घर्ती केहर िसं राना मगरात संघर्ष समितिका संयोजक बल बहादुर गाहा शौन्दर्यवती शाक्य सन्तोष थापा र तेज कुमाल लगायतले तीन दलले घोषणा गरेका ११ राज्य आफुहरुलाई मान्य नहुने बताएका थिए । यसै वीच जेष्ठ ७ गते देखि तीन दिन सम्म जातिय पहिचान सहितको राज्य माग गर्दै नेपाल बन्दको आयोजना गरिएको संघका संयोजक गम बहादुर सारुले जानकारी दिनु भयो ।
















