देविका घर्ती मगर
दाङ, २७ बैशाख । राप्ती अञ्चलको दाङमा स्थापना भएको वेष्टर्न डेभलपमेन्ट बैंकले यसक्षेत्रका सेवाग्राहिहरुलाई सर्वसुलभरुपमा सेवा प्रदान गर्दै आएको छ । २०६२ सालमा स्थापना भएको बैंकले सेवाग्राहिहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकिङ तथा बित्तिय सेवा प्रदान गर्दै आएको बताएको छ । दाङको घोराहीमा केन्द्रिय कार्यालय स्थापना गरी स्थापना भएको बैंकले राप्तीका सबै जिल्लाहरुमा आफ्नो सेवा विस्तार गर्ने जानकारी दिएको छ । बैंकको छैठौ वार्षिक साधारणसभाको अवसरमा आज बुधवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बैंकले त्यस्तो जानकारी दिएको हो । यस क्षेत्रका सबै सर्वसाधारणलाई सर्वसुलभरुपमा सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको बैंकले आर्थिक वर्ष २०६७÷०६८ सम्म कुल सम्पत्ति ५८ करोड ६७ लाख १४ हजार, जगेडा कोष १ करोड १ लाख ५७ हजार, निक्षेप संकलन ४७ करोड ९२ लाख २९ हजार, कर्जा तथा सापट ३३ करोड ६२ लाख ४७ हजार रहेको सो अवसरमा जानकारी दिईएको थियो ।यस्तै बैंकले आर्थिक वर्ष २०६७÷०६८ सम्म ब्याज आम्दानी ५ करोड ३० लाख ९० हजार, ब्याज खर्च ३ करोड ४६ लाख ३० हजार, सञ्चालन आम्दानी १ करोड ५८ लाख ७२ हजार, सञ्चालन मुनाफा २ करोड १६ लाख ४ हजार, खुद मुनाफा १ करोड ३५ लाख ६० हजार र नगद लाभांश ९४ लाख ७४ हजार रहेको जानकारी दिएको छ । बैंकले आर्थिक वर्ष २०६७÷०६८ को खुद मुनाफाबाट १५.७९ प्रतिशत (९४ लाख ७४ हजार रुपैयाँ) शेयरधनिहरुलाई लगानीको प्रतिफल स्वरुप लाभांश वितरण गरेको जानकारी दिएको छ । केन्द्रिय कार्यालय घोराही भएको बैंकले दाङको नारायणपुर, बाँकेको नेपालगञ्ज र कपिलवस्तु जिल्लाको चन्द्रौटामा शाखा कार्यालय सञ्चालन गर्दै आएको बैंकले दाङको तुलसिपुर, बिजौरी, लमही र गढवामा संकलन केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुको सुबिधालाई ध्यानमा राखेर यसै वर्षदेखि निशुल्क एबिबिएस सेवा शुरु गरेको बैंकले निकट भविष्यमै एटिएम सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । बैंकले हाल ७ वटा बाणिज्य बैंकहरुसंगको सहकार्यमा बिभिन्न स्थानहरुमा रकम पठाउन र प्राप्त गर्न सकिने ब्यवस्था मिलाएको छ । यसबाहेक बैंकले बिभिन्न २४ वटा रेमिट्यान्स कम्पनीहरुसंग सम्झौता गरी स्वदेशका बिभिन्न ठाँउमा रकम पठाउने तथा प्राप्त गर्न सकिने र विदेशबाट पठाएको रकम छिटो छरितो तरिकाले सम्बन्धीत व्यक्तिलाई भुक्तानी गर्ने सुबिधा प्रदान गर्दै आएको छ ।















