रोशनी तमू,१८ वैशाख,पोखरा
तमूवानको राजधानी भनेर चिनिने पोखरामा हिजोदेखि तमूवानमा आदिवासी जनजातिहरुको वृहत सम्मेलन शुरु भएको छ । जातिय पहिचानमा आधारित संघीय प्रदेश र स्वायत्त क्षेत्रहरु स्थापना साथै आदिवासी जनजातिहरुको आत्मनिर्णय, स्वशासन र स्वयत्ततासम्बन्धी अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न, संघीय प्रदेश र स्वायत्त क्षेत्रहरुमा आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास सम्बन्धी रणनीतिक खाका तय गर्न र जेठ १४ गते भित्रै आदिवासी जनजातिको जातिय पहिचान सुनिश्चितता सहितको आम नेपालीको संविधान जारी गराउन दवाव दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोन गर्दै एकीकृत ने.क.पा.(माओवादी)का सचेतक देव गुरुङले प्रमुख दलका शीर्ष नेताहरुमा रहेको एकाधिकारवादी र एकात्मक सोचका कारण संविधान निर्माणले गति लिन नसकेको आरोप लगाउनु भएको छ । साथै उहाँले भूगोलविनाको जाति संसारमा कही नरहेको भन्दै पहिचान,सामथ्र्य र विशेषअधिकार सहितको संघीय राज्य स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । जात भनेको राष्ट्र र जातीयता भनेको राष्ट्रियता भएको उहाँको भनाई रहेको थियो । तमुवान, मगरात भन्नाले जातका आधारमा नभई तमु र मगरहरुको थातथलो भएकाले अन्य नाम जोडन आवश्यक नभएको नेता गुरुङको जिकीर थियो । साथै उहाँले जातीय पहिचानको आधारमा राज्य पुर्नसंरचना हुनुपर्नेमा जोड दिनुभयो । बहुसंख्यक आदिवासी जनजातिहरुको पहिचान र विशेषअधिकार सहितको संघीय राज्य स्थापना नभए स्वीकार नगर्ने नेता गुरुङको चेतावनी थियो ।कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष अशोक राई, नेपाली काङ्ग्रेसका इन्द्रबहादुर गुरुङ, कुलबहादुर गुरुङ, प्रा.डा. ओम गुरुङ, ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङ,सभासद किरण गुरुङ, अमर गुरुङ, राजकाजी गुरुङ, सीता गुरुङ, सावित्री दुरा, टासी स्याम्बो गुरुङसेनी, सुरेश आले, के.बी. गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी महासचिव सोनी लामा, आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, डा. कृष्ण भटचन, ज्योती भटचन, आदिवासीका अन्तराष्ट्रिय विज्ञहरु क्याफी मार्स, टेरी टर्नर लगायतले सम्बोधन गर्नुभएको थियो ।
जन प्रदर्शनमा तमुवानका विभिन्न जिल्ला तथा देशभरबाट आएका करिब एक लाख आदिवासी जनजातिले आ–आफनो जातीय पोशाकमा पोखरामा प्रदर्शन गरेका थिए । बिहान ११ बजेपछि शुरु भएको ¥यालीमा विभिन्न आदिवासी जनजाति संघसंस्थाहरुको सहभागितामा विशाल साँस्कृतिक झाँकीसहितको जनप्रदर्शन चिप्लेढुङ्गाबाट सुरुभई अमरसिंह चौरमा पुगि उद्घाटन समारोहमा परिणत भएकोे थियो । तमू धिं नेपालकी अध्यक्ष कर्म तमूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तमू ह्यूल छोंज धिं(गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय महासचिव रेशम तमूले गर्नुभएको थियो ।



















