रूद्र श्रीसमगर
पोखरा, वैशाख १७
विभिन्न पार्टीका आदिवासी जनजाति नेताहरूले कुनैपनि हालतमा जातीय पहिचानसहितको स्वायत्त प्रदेशहरूको स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । आइतबार पोखरामा आयोजित तमुवान आदिवासी जनजाति बृहत सम्मेलनलाई सम्बोधन गर्दै नेताहरूले अब बन्ने नयाँ संविधानमा जातीय पहिचानसहितको स्वायत्त प्रदेशहरू सुनिश्चित हुनुपर्ने बताएका हुन् । अमरसिंहचौरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकाधिकारवादी र ब्राम्हणवादी चिन्तनका कारण नयाँ संविधान निर्माणमा ढिलाइ भइरहेको भन्दै गलत चिन्तनका विरुद्ध नयाँ संघर्षको जरुरत रहेको बताउनुभयो । जातीय पहिचानसहितको राज्यबारे एकात्मकवादी, यथास्थितिवादीहरूले भ्रम फैलाइएको भन्दै नेता गुरुङले भौगोलिक आधारमा प्रदेशहरूको नामाकरण हुनै नसक्ने बताउनुभयो । दबाबमूलक कार्यक्रमबाट समेत तमुवानलगायतका जातीय पहिचानसहितको राज्य स्थापना नगरिए विद्रोहका लागि तयार रहन समेत उहाँले आदिवासी जनजातिहरूलाई आग्रह गर्नुभयो । तमुवान स्वायत्त प्रदेश तमु जातिको मात्र नभै सम्पूर्ण आदिवासी जनजाति, दलित, महिला, ब्राम्हण, क्षेत्री, सन्यासीलगायत सबैको भएको भन्दै नेता गुरुङले सबैलाई समान अधिकारका लागि लड्न आव्हान गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अशोक राईले सम्पूर्ण नेपाली जनताबीचको हार्दिकतापूर्ण सम्बन्ध र एकताका लागि नयाँ आधारको खोजी गर्नुपर्ने बेला आएको बताउनुभयो । समानताको आधारमा नयाँ एकता र सम्बन्ध कायम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै एमाले उपाध्यक्ष राईले जातीय, भाषिक एवं सांस्कृतिक समानता कायम हुन नसके मुलुकमा प्रलय आउने चेतावनी समेत दिनुभयो । लडेर भएपनि जातीय पहिचानसहितको राज्य स्थापित गराइछाड्ने समेत उहाँको दाबी थियो । त्यसैगरी, एमाले पोलिटब्यूरो सदस्य एवं आदिवासी जनजाति सभासद् सभा (ककस)का संयोजक पृथ्वीसुब्बा गुरुङले तमुवान स्वायत्त प्रदेशको स्थापनालाई अब कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “बरु हाम्रो हात काटियोस् तर, आदिवासी जनजाति विरोधी संविधानमा हस्ताक्षर गर्नेवाला छैनौं ।”
सम्मेलनलाई एमाले निकट नेपाल लोकतान्त्रिक तमु संघका केन्द्रीय अध्यक्ष किरण गुरुङ, नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर गुरुङ, माओवादी निकट तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष अमर गुरुङ, माओवादी निकट आदिवासी जातीय÷क्षेत्रीय महासंघका केन्द्रीय महासचिव सुरेश आलेमगर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का पोलिटब्यूरो सदस्य एवं जातीय मामिला विभाग प्रमुख केबी गुरुङ, माओवादी सभासद्हरू सावित्री दुरा, राजकाजी गुरुङ ‘करण’, नेपाली कांग्रेसकी सभासद् सीता गुरुङ, तमुवान आन्दोलनका संस्थापक खगेन्द्रजंग गुरुङ, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखी थारू, समाजशास्त्रीद्वय प्रा.डा. ओम गुरुङ, डा. कृष्ण भट्टचन, अन्तर्राष्ट्रिय आदिवासी विज्ञ टेरी टर्नर, नेपाल तमु ह्युला छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्)का महासचिव रेशम गुरुङ, तमु धिं नेपालका केन्द्रीय अध्यक्ष कर्म गुरुङ, महासचिव देवीराज गुरुङलगायतले तमुवान स्वायत्त प्रदेशलगायतका जातीय पहिचानको स्वायत्त प्रदेश स्थापनाका लागि षड्यन्त्र गरिए विद्रोह गर्ने चेतावनी दिएका थिए ।
सभाअघि, हजारौंको संख्यामा उपस्थित आदिवासी जनजातिहरूको ¥याली चिप्लेढुंगाबाट सुरू भई भीमसेनचोक, नयाँबजार, लखनचोक, चाइनापुल, बुद्धचोक, उत्तमचोक, अमरसिंहचोक हुँदै अमरसिंहचौरमा पुगी सभामा परिणत भएको थियो । सम्मेलनमा सहभागी हुन तमुवान क्षेत्रका विभिन्न जिल्लासहित मगरात क्षेत्रका बागलुङ, म्याग्दी, चितवन, नवलपरासीलगायतका जिल्लाबाट समेत आएका थिए ।














