रोशनी गुरुङ, १३ वैशाख, पोखरा ।
पोखरामा वैशाख १७ देखि १९ गते सम्म आयोजना हुन गई रहेको तमूवान आदिवासी जनजाति बृहत सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानाकारी गराईएको हो । कार्यक्रम अन्तरगत वैशाख १४ गते विहान ८ बजे पोखरा सभागृहबाट बृहत प्रचारात्मक मोटर साईकल रयाली र वैशाख १५ गते विहान ११ बजे लेखनाथ नगरपालिका अगाडीबाट प्रचार रयाली निकालीने भएको छ ।यस्तै वैशाख १७ गते विहान ११ बजे आदिवासी जनजाति संघसंस्थाहरुको सहभागितामा विशाल साँस्कृतिक झाँकी सहितको जनप्रर्दशन चिप्लेढुङ्गाबाट शुरुभई अमरसिंह चौरमा पुगि उदघाटन समारोहमा परिणत हुने भएको छ । सभालाई नेकपा एमालेका अशोक राई, नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, एकीकृत नेकपा माओवादीका देवप्रसाद गुरुङ तथा प्रा.डा. ओम गुरुङ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, अमर गुरुङ, राजकुमार लेखी सहितका नेपालका आदिवासी अन्दोलनका अगुवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै वैशाख १८ गते आदिवासी जनजाति आन्दोलनका अन्तराष्ट्रिय विज्ञहरुबाट संघीयता, आत्मनिर्णयको अधिकार, स्वशासन लगायतका विषयहरुमा अनुभव आदनप्रदान गरिने भएको छ । कार्यक्रमको अन्तिम दिन वैशाख १९ गते आदिवासी जनजातिहरुको स्वदेशी अभियन्ताहरु र तमूवानमा थातथलो भएका आदिवासी जनजाति संघसंस्थाहरुको अवधारणपत्र प्रस्तुत एवं छलफल गरि पोखरा घोषण पत्र जारी गरिने भएको छ । सम्मेलनमा तमूवानका विभिन्न जिल्लाहरुबाट करिब १ हजार जना प्रतिनिधिहरुको सहभागिता रहने छ भने उदघाटन समारोहमा १ लाखको सङख्यमा जनप्रदर्शन समेत गरिने आयोजकले दावी गरेको छ ।
जातिय पहिचानमा आधारित संघीय प्रदेश र स्वायत्त क्षेत्रहरु स्थापना साथै आदिवासी जनजातिहरुको आत्मनिर्णय, स्वशासन र स्वयत्ततासम्बन्धी अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न, संघीय प्रदेश र स्वायत्त क्षेत्रहरुमा आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास सम्बन्धी रणनीतिक खाका तय गर्न र जेठ १४ गते भित्रै आदिवासी जनजातिको जातिय पहिचान सुनिश्चितता सहितको आम नेपालीको संविधान जारी गराउन दवाव दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिका सचिव देवीराज गुरुङले जानाकारी दिनुभयो । सम्मेलन सम्पन्न गर्न ५० लाख रुपैय खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।



















